१३ वैशाख
काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।
आइतबार (आज) बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुटेका हुन् । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।
यस्तै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ ।
यस्तै बैठकमा सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल भइरहेको छ। सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।








