२८ चैत्रपर्वत । नेपाल प्रेस यूनियन पर्वतले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा अन्तरघात गर्ने एक जना सदस्यलाई कारवाही गरेको छ । नेपाल प्रेस यूनियनका सदस्य निर्भिकनारायण भुर्तेललाई कारवाही गरिएको हो । पर्वत जिल्ला पैयुँ गाउँपालिका ५ निवासी भुर्तेल नेपाल प्रेस यूनियनको सदस्य हुँदाहुँदै प्रेस चौतारी लगायत अन्य वामगठबन्धनलाई सहयोग गरेर संस्थागत अनुसासन उलंघन गरेको भन्दै सदस्यबाट निष्कासन गरिएको प्रेस यूनियन पर्वतले जनाएको छ । संगठनले गरेको निर्णयलाई आत्मसाथ गर्दै नाटकिय तरिकाले पदलोलुपत देखाई अन्य संगठनमा गएकाले कार्वाहि गरिएको प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारी र सचिव साजन परियारले आज विज्ञप्ती प्रकाशित गरि भुर्तेललाई सदस्यबाट निलम्वन गरिएको जानकारी दिईएको छ ।
व्याक्तिगत स्वार्थ र पदका लागि आफ्नै संगठनलाई धोका दिएको हुनाले उनलाई नेपाल प्रेस यूनियनले विश्वासघात गरेको अर्थमा कारवाही गरेको अध्यक्ष माया अधिकारीले बताउनुभयो ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा भुर्तेल प्रतिगमनकारी संग मिल्न गएको भन्दै आपत्ती जनाईएको छ । साथै उनलाई पार्टीका कुनै पनि जिम्मेवारीमा भएको भए तुरुन्त निस्कासन गर्न माउ पार्टी नेपाली काँग्रेसको ध्यानाकर्षण समेत गराईएको अधिकारीले बताउनुभयो ।
निर्वाचनको दौरानमा प्रेस चौतारी लगायत वाम घटक पत्रकारका संगठनका नेताहरुले पत्रकार महासंघका सदस्यहरुलाई होटलमा थुनेर बन्धक बनाएको, प्रेस यूनियनका उम्मेदवारलाई सहयोग गरेमा ज्यान मार्ने सम्मको धम्की दिएको तथा मन्दिर घुमाएर कसम खुवाईएको घटना अशोभनिय रहेको पनि ठहर गरिएको छ । मौलिक हकको उलंघन हुने क्रियाकलाप भएको भन्दै यूनियनले यस्ता अबान्छित गतिविधि हुन नदिन ध्यानाकर्षण गराएको छ ।