२७ चैत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज (शुक्रबार) ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

नेताहरुका अनुसार देउवाले आज आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।