२५ चैत्र
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ।
राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारबाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन्।
माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेस गर्ने निर्णयबमोजिम उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।








