१८ चैत्र

पर्वत । पर्वत जिल्लामा जिल्लास्तरिय जनगणना सचेतना गोष्ठि सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले हरेक १० वर्षमा गरिने जनगणनाले जनसंख्या लगायत राज्यका श्रोत साधनको समेत अध्ययन गर्ने भएकाले सवै नागरिकले नछुटाईकन गणकहरु घर घरमा पुग्दा सुचना दिएर सहयोग गर्नुपर्ने वताउनू भयो । फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले जनगणना जस्तो महत्वपूर्ण कार्यक्रमम औपचारिकतामा मात्र सिमित नगरी व्यापक प्रचार प्रसार गरि सवै नागरिक नछुट्ने र नदोहोरीने गरि तथ्यपरक गणना गर्नुपर्ने वताउनू भयो । मोदी गाउंपालिका अध्यक्ष प्रेम शर्मा पौडेल लगायतले जनगणनाको वारेमा सुझाव पेश गरेका थिए ।
अन्तरकृया कार्यक्रममा सहभागीहरुले अक्सरवसोवास भएका स्थानमा नै जनगणना गरिने भएकाले अहिले खाली हुदै गएका गाउंवस्ती हरु झन रित्तीने त हैनन् भन्ने प्रश्न गरेका थिए । लगातार ६ महिना वसेको स्थानमा नै गणनामा पर्ने भएकाले अस्थायी रुपमा वसोवास भएका स्थानमा जनसंख्याको चाप देखिने स्थायी वसोवासमा जनगणना नहुने भएकाले श्रोत र साधानको विनियोजनमा प्रभाव परी विकासमा असन्तुलन कायम हुने आशंका व्यक्त गरेका छन् ।
बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पु-याउन सुझाव दिएका थिए । कर र राजश्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सुझाव दिए ।

कार्यक्रममा आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे कार्यालय प्रमुख ज्योति केसीले जानकारी दिनुभएको थियो ।
सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ । नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा : मेरो गणना मेरो सहभागिता रहेको छ ।
उक्त कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले र कार्यक्रमको संचालन दिपक शर्माले गर्नुभएको थियो ।