११ चैत्र
पर्वत । कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौती बनेको छ।
छिमेकी जिल्ला म्याग्दीमा ६ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने अवस्था भयो तर पर्वतमा चैत २० गतेबाट १२ औँ चरणमा पुन: औषधि खुवाउने अभियान सुरु हुँदै छ। यो अवस्था रहनु स्वास्थ्य क्षेत्रको लागि ठुलो चुनौती बनेको छ। हुन त पर्वत जस्तै गण्डकी प्रदेशकै अन्य दुई जिल्ला बागलुङ र लमजुङमा पनि यो पटक पनि औषधि खुवाउने अभियान चल्दै छ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार औषधि सेवन गरेपछि केही वर्षको अन्तरमा सर्वेक्षण हुने गर्दछ। त्यसमा करिब तीन सय जनाको रगत लिएर परीक्षण गरिन्छ। जसमा एक प्रतिशतभन्दा तलको जनसङ्ख्यामा सङ्क्रमण रहेको अवस्थामा जोखिम भएको मानेर औषधि खुवाउनुपर्ने हुँदैन।
पर्वतको अवस्थालाई हेर्दा मुख्य गरी कुस्मा नगरपालिका–१ पाङमा समस्या बढी देखिएको छ भने फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको समस्या हट्दै गएको छ।
अधिकृत भण्डारीका अनुसार पर्वतमा पाँच पटकसम्म गरिएका सर्वेक्षणहरू असफल भएका छन्। १२ औँ चरणमा औषधि खुवाएपछि गरिने सर्वेक्षणसमेत असफल भएमा पुन ६ वर्षसम्म पर्वतबासीहरुले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुपर्छ।
सर्वेक्षणका लागि सरकारले सुरुमा तोकेको नियमअनुसार कुनै ठाउँलाई केन्द्र मानेर त्यो ठाउँका बासिन्दाको रगत परीक्षण गरिन्छ। पोजेटिभ वा नेगेटिभ जे आए पनि केन्द्र परिवर्तन गर्न पाइँदैन, सुरुमा जुन केन्द्रलाई नमुना मानियो अन्तिमसम्म पनि त्यही ठाउँमा भेटिने सङ्क्रमणको आधारमा औषधि खुवाउने चरण निर्धारण हुन्छ।
तर कुस्मा नगरपालिका–१ पाङमा पाँचौँ पटकसम्म गरिएको सर्वेक्षणमा पनि सङ्क्रमणको दर एक प्रतिशतभन्दा तल नझरेपछि त्यहीँका बासिन्दाका कारण जिल्लाभरका सबै नागरिकले औषधि सेवन गर्नुपर्ने बाध्यता बनेको हो।
स्वास्थ्य कार्यालयमा रहेको तथ्याङ्क अनुसार सन २००१ मा गरिएको सर्वेक्षणमा बेसलाईन ४।८३ प्रतिशत रहेको थियो अर्थात्। रगत सङ्कलन गरिएकामध्ये त्यत्तिमा हात्तीपाइलेको जीवाणु फेला परेको थियो। सन २०११ बाट औषधि खुवाउन सुरु गरेपछि सर्वेक्षण गर्ने केन्द्रका रुपमा खानीगाउँ र पाङलाई राखियो, औषधि पनि खुवाइयो।
सन् २०१४ मा गरिएको सर्वेक्षणमा खानी गाउँमा सङ्क्रमणको अवस्था ०।९७ प्रतिशत आयो भने खानीगाउँको २।५८ प्रतिशत। एक प्रतिशतमा नझरेपछि औषधि खुवाउने क्रम चलिनै रह्यो। सन २०१६ मा गरिएको परीक्षणमा खानीगाउँको नतिजा ०।६७ र पाङको २।९५ प्रतिशत देखियो।
जति औषधि खुवाइयो तर पाङमा सङ्क्रमण झनै बढेको देखियो। सन २०१८ मा गरिएको सर्वेक्षणमा खानी गाउँमा ०।६७ र पाङमा २।९५ प्रतिशत हुँदै पाङको अवस्था खस्कियो। लगातार ११ वर्षसम्म औषधि खुवाएपछि पछिल्लो पटक सन २०२० मा खानीगाउँका तीन सय छ जना र पाङका तीन सय १५ जनाको रगत सङ्कलन गरेर हात्तीपाइलेको परीक्षण गर्दा खानी गाउँमा सङ्क्रमणको अवस्था ०।३२६ र पाङमा झनै बढेर ५।३९ प्रतिशत पुग्यो।
सङ्क्रमणको अवस्थालाई एक प्रतिशतभन्दा तल लैजाने लक्ष्य राखेर हरेक वर्ष औषधि खुवाउने अभियान चलाए पनि पाङकै कारण जिल्लाभर औषधि खुवाउनुपर्ने भएको हो।
पर्वतमा सन २०१० बाट हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो। सुरुमा महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गरेर सुरु गरिएको अभियानको पछिल्लो चरणमा आइपुग्दा स्वास्थ्यकर्मीको प्रत्यक्षमा निगरानीमा खाने व्यवस्था मिलाइएको छ।
सबैले औषधि सेवन गरेर सङ्क्रमणको अवस्था एक प्रतिशतभन्दा तल झरेपछि देशका ५१ जिल्लामा यो अभियान रोकिइसकेको छ।









