१ चैत्र

कोरोना संक्रमित बिरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका छन् ।

कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना बिरामीको अक्सिजनको अभावका कारण शनिबार मृत्यु भएको थियो । बिरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिरले राजिनामा दिएका हुन् ।

राजधानी अमनबाट २३ किलोमिटर दुरीमा रहेको साल्ट शहरमा शनिबार बिहान यो घटना घटेको थियो । झण्डै १ घन्टा अक्सिजनको अभाव हुँदा सघन उपचार कक्षमा उपचाररत बिरामीको मृत्यु भएको थियो ।

साथै प्रसुति वार्डमा समेत अक्सिजन अभावले समस्या भए पनि अन्य वार्डमा बिरामीको मृत्यु भएको छैन । के कारणले अक्सिजन अभाव भयो भन्ने विषयमा अनुसन्धान जारी छ । स्वास्थ्य मन्त्रीले आफूले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।