२४ फागुन

काठमाडौं। तीन वर्ष अघि तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीले सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा दुई पार्टीको चुनावी गठबन्धन गरे । एउटै घोषणपत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए झण्डै दुई तिहाइ मत दिएर सरकारमा पठाए ।

दुई तिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिष्ट पार्टीले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार २०७४ साल फागुनमा बनेको थियो । सरकार बने यता प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपाल भन्ने आकर्षक नारा ल्याए । झट्ट हेर्दा र सुन्दा यि र यस्तै नाराले जनताको ध्यान खिच्यो पनि ।

सरकार बन्नुपूर्व दुई पार्टीको एकिकरण गर्ने र त्यही अनुसार अघि बढ्ने गरी तत्कालिन एमाले अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्षले सत्ता साझेदारीका लागि तीन बुँदे सहमति गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो । तर प्रचण्डले भारत भ्रमण गरेका बेला आधा आधा कार्यकाल सत्ता साझेदारी गर्ने गोप्य सम्झौता गरेको रहस्य खोलेपछि २०७५ जेठ ३ गते गरेको पार्टी एकिकरणमा ७ रेक्टर स्केलको भूकम्प बराबरको कम्पन ल्यायो । त्यसपछिका दिनमा नेकपाभित्र सो भूकम्पको ठूल्ठूला पराकम्पनहरु गए । जसले गर्दा आजको अवस्थामासम्म आइपुग्दा दुवै पार्टीलाई सर्वोच्च अदालतले अलग अलग गराउने क्रममा एकिकरण नै भंग गर्ने अवस्थामा ल्याइदियो । सिंगो नेकपा हुन्थ्यो भने निर्वाचन आयोगले दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले अपहरण गर्ने अवस्था आउदैनथ्यो । साथै एकिकरण भंग गर भन्ने अवस्था पनि आउदैनथ्यो । पार्टीभित्र आएको विग्रह र असन्तुलनको फाइदा राज्यका संबैधानिक अंगमा बस्ने व्यक्ति र पात्रले समेत लिएका छन् । त्यसकै असरका रुपमा सर्वोच्च अदालतको फैसलालाई लिन सकिने अवस्था छ ।

जानकारहरुका अनुसार नेकपा नाम मात्रै विवादमा रहेपनि सर्वोच्चले एकिकरण नै भंग गर्ने आदेश दिएपछि भने संसद पुर्नस्थापना गरेर ओलीलाई गरेको ‘अन्याय’ नेकपा नाममा गरेको फैसलाबाट ‘न्याय’ गरेको देखिएको छ । यद्यपि यो विषयलाई यसै भन्ने अवस्था छैन । दुवै पार्टी सत्ताकै लागि जोडिएका र सत्ताकै लागि विभाजित भएको अवस्थामा सर्वोच्चको फैसलालाई पनि अन्यथा मानिहाल्नुपर्ने अवस्था भने छैन ।

सत्ता स्वार्थ मिल्दा एक भएका र सत्तामा भागवण्डा नमिल्दा विभाजित हुने अवस्थालाई सर्वोच्चले ढोका बन्द गराउने कोसिसको रुपमा पनि लिन सकिने अवस्था आएको छ । सत्ता स्वार्थबाट शुरु भएको एकिकरण प्रकृया सर्वोच्च अदालतको एउटा फैसलाले टुंग्याइदिएको भन्न सकिने अवस्था बनेको छ । संसद् विघटनपछि बदलिँदै गएको राजनीतिक माहौल सर्वोच्चबाट संसद् पुनर्स्थापना भएपछि एउटा लयमा आइनपुग्दै पुन विवादित र अन्यौलग्रस्त बनाएपनि दुवै पार्टीका नेताहरुको व्यक्तिगत कुण्ठा र कार्यशैलीबारे यसपल्ट नेपाली जनताले राम्रैसँग सुन्ने र मनन गर्ने मौका भने पाएका छन् । जसले गर्दा सुल्झन बाँकी समस्या केपी शर्मा ओली र दाहाल–नेपाल समूहमा मध्ये नेपाल कम्युनिस्ट पार्टी (ने क पा) आधिकारिक कुन समूह भन्ने अन्योल कायमै रहेका बेला ऋषि कट्टेललाई नाम दिएपछि सत्ता स्वार्थमा मात्रै एकिकरण सम्भव रहेनछ विचार सिद्धान्त र कार्यदिशा पनि प्रष्ट हुनुपर्नेछ भन्ने विषय उठान समेत भएको छ ।