२१ माघ
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोटका दलित अगुवा एवं नेपाली कांग्रेस खुर्कोट गाउँ कार्यसमितिका सदस्य सर्वे दर्जीको स्मरणमा श्रद्दाञ्जली सभा गरेको छ । ७६ वर्षको उमेरमा यहि माघ १३ गते निधन भएका दर्जीको ९ औं दिनको पुण्यतिथिमा उहाँकै निबास खुर्कोटमा श्रद्दाञ्जली सभाको आयोजना गरिएको हो ।

कार्यक्रमका बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले दर्जीको निधनले नेपाली कांग्रेस पर्वत र खुर्कोटका सम्पुर्ण जनतालाई अपुरणिय क्षती पुगेको बताउनुभयो । नेता जोशीले सर्वे दर्जी र आफ्नो राजनीतिक इतिहास दुई पुस्ता लामो रहेको स्मरण गर्दै बिपन्न र दलित परिवारमा जन्मिएर पनि कहिल्यै आफ्नो व्यक्तिगत लाभका लागि नभनेर समग्र समाजको चिन्ता गरिरहने सर्वे दर्जी दलित समुदायकै नक्षत्र भएको स्मरण गर्नुभयो । ७६ वर्षको उमेरसम्म पनि गाउँमा खानेपानी, बाटोघाटो, मठमन्दिर लगायतको निर्माणमा मात्रै खटिने सर्वे दर्जीको बाटो पछ्याउन छोराहरुलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नवराज गुरुङले सर्वे दर्जीबाट धेरैले निष्ठा र आदर्शको राजनीति सिक्नुपर्ने बताउनुभयो । उहाँले दलित समुदायमा जन्मिएर पनि कहिल्यै व्यक्तिगत स्वार्थमा नलागेका सर्वेको राजनीतिक चरित्रले परिवार र स्थानीयबासीलाई समेत सभ्य संस्कार सिकाएकोमा आफु प्रसन्न भएको बताउनुभयो । उहाँले सर्वे दर्जीका सपना पुरा गर्न उहाँले थालेका काम पुरा गर्ने र पार्टीभित्र रहेको मनमुटाव हटाउनुपर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले जहिलेसुकै गाउँको विकासमा चिन्ता गरिरहने सर्वे दर्जीलाई आफुले कहिल्यै नबिर्सने बताउनुभयो । सातामा एक दुई पटक नगरपालिकामा पसेर गाउँ र बिपन्न दलितको उत्थानका लागि लागिपर्ने सर्वे जस्ता इमान्दार समाजसेवी नगरले खोजिरहेको बताउनुभयो । वडाध्यक्ष यदुप्रसाद शर्माले पनि दलित अगुवा सर्वे दर्जीको सामाजिक योगदानका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु कुलप्रसाद उपाध्याय, सरस्वती शर्मा जिज्ञाँसु, पुर्व कोषाध्यक्ष कृष्णप्रसाद गौंडेल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्री पुर्व शिक्षक लेखनाथ शर्माले पनि सर्वे दर्जीको सादगी जिवनका बारेमा चर्चा गर्नुभएको थियो ।

वडा सभापति कालीभक्त शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस खुर्कोटका सहसचिव नारायण गिरीले गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नगर समिति सदस्य कालीका प्रसाद शर्माले धन्यबाद ज्ञापन गर्नुभएको थियो । बिक्रम सम्वत् २००१ असोज २० गते जन्मिएका सर्वे दर्जीका दुई श्रीमती, पाँच छोरा र सात छोरीहरु हुनुहुन्छ ।








