२० माघ
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।
यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। संवैधानिक परिषदमा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो।ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गराएका हुन्।








