१५ माघ

पर्वत। पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा दलित सशक्तीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम आजबाट सुरुभएको छ । दलित समुदायमा लुकेर रहेका प्रतिभा र ज्ञानसिपहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु भएको हो । जलजला गाउँपालिक पर्वतको सहयोग र दलित अधिकार नीग्रानी मंचको आयोजनामा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले नेपालको हरेक परिवर्तनमा दलित समुदायको सक्रिय सहभागिता रहेको बताउनुभयो । नेता जोशीले दलित समुदाय श्रम सिप कौशलता र बढी खट्ने वर्ग हुँदाहुँदै पनि जुन गतिमा विकास हुनुपर्थ्यो त्यो हुन नसकेकोप्रति आफु गम्भीर रहेको बताउनुभयो । जोशीले दलित समुदाय पनि अन्य समुदाय सरह राज्यका निति निर्माण तथा हरेक तहमा पुग्न सक्ने क्षमता रहेको भन्दै हरेक ठाउँमा डटेर लाग्न आग्रह गर्नुभयो । नेता जोशीले अहिलेको सरकारले संविधान र लोकतन्त्रकै हत्या गर्न लागेकोले यसको विरुद्धमा लाग्न सबैलाई आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले समाजको समग्र विकासका लागी सबै समुदायको एकता हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मल्लले दलित समुदायको हक अधिकार र समग्र विकासका लागी आफु संधै संगै रहेको बताउनुभयो । साथै मल्लले आगामी दिनमा दलित समुदायको आय आर्जन ज्ञान सिपलाई प्रबर्द्धन गर्न संधै आफु र गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।