१४ माघ
एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु राेगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ।

सिएनएन बिजनेसका अनुसार शनिबार एप्पलले आफ्नो पेजमा नयाँ आइफोनले पार्न सक्ने जोखिमबारे सूचना प्रकाशित गरेको थियो। जसमा आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्यागनेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखेको पेसमेकर र डेफिब्रिलेटर जस्ता मेडिकल उपकरणको सम्पर्कमा आएर हानी पुर्‍याउन सक्ने लेखिएको छ।

कम्पनीले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन भनेको छ। एप्पलका अनुसार आइफोन १२ का मोडलमा पुराना आइफोनमा भन्दा बढी चुम्बक हुन्छ। यसैगरी मुटु रोगीले लगाउने मेडिकल उपकरणमा पनि एउटा सेन्सर हुन्छ, जुन बाहिरी उपकरणमा हुने चुम्बकसँग सम्पर्कमा आउन सक्छ।
सोहीकारण कम्पनीले प्रयोगकर्तालाई आफ्नो आइफोन वा म्यागसेफ चार्जर मेडिकल उपकरणभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको हो।