७ माघ
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले यूट्यूवमार्फत छोटो भिडियो सम्बोधन सार्वजनिक गरेका हुन् । सम्बोधनमा उनले भनेका छन्, ‘हामीले त्यही गर्यौं, जे गर्नका लागि आएका थियौं । अझ त्यो भन्दा पनि बढी गर्यौं ।’
‘यो कठिन लडाई थियो र कठिन भिडन्त रह्यो । तर मैले सामना गरें किनभने तपाईंहरुले मलाई यही गर्नका लागि निर्वाचित गर्नुभएको हो,’ भिडियोमा ट्रम्प अगाडि भन्छन । अमेरिका सबै राष्ट्रका लागि आशा, प्रकाश तथा गौरवको भूमि रहेको र रहनुपर्ने तर्क गरे । ट्रम्पले नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना पनि व्यक्त गरेका छन् ।
‘यही साता नयाँ राष्ट्रपतिको सपथ हुँदैछ। हामी अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्छौं,’ उनले भने,’उनीहरूलाई हाम्रो शुभेच्छा छ र भाग्यले साथ देओस् भन्न चाहन्छौं।’
राष्ट्रपति चुनावमा धाधली भएको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनका बारेमा थप केही बालेनन् र उनले बाइडेनको जितलाई स्विकार पनि गरेनन् ।
अमेरिकामा आज राष्ट्रपति ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदैछन् भने नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । नेपाली समयअनुसार आज मध्यरातमा बाइडेनले सपथ लिँदैछन् । शपथ ग्रहणलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । शपथ समारोहमा सिमित मानिसलाई मात्र प्रवेश दिइनेछ ।
ट्रम्पको कार्यकालका अन्तिम २ साता संसद भवन (क्यापिटल हिल)मा भएको हिंसात्मक दंगाले प्रभावित बन्यो । उनका समर्थकले अमेरिकी कंग्रेसमाथि ६ जनाको ज्यान जाने गरी आक्रमण गरे, उनीहरु चुनावी परिणाम उल्टाउन चाहन्थे ।









