२४ भदौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् । दोस्रो पटक राष्ट्रपतिको चुनाव लड्दै गरेका ट्रम्प शान्ति पुरस्कारका लागि मनोनित भएका हुन् ।

एक साताअघि सम्पन्न युएई र इजरायल बीचको शान्ति सम्झौताको श्रेय पाएका उनलाई उक्त पुृरस्कारको हकदारका रुपमा प्रस्तुत गरिएको हो ।

यसअघि उनी अमेरिकाको सबैभन्दा तिक्त सम्बन्ध भएको उत्तर कोरियासँग सम्बन्ध गाँस्न गरेको प्रयासले पनि उनलाई यो पुरस्कारको हकदार मानिएको हो ।

ट्रम्पले पहिलो पटक सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट गरे । शान्ति वार्ताका लागि उनी उत्तर कोरिया र दक्षिण कोरियाको बोर्डरमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति समेत बने ।

त्यसैगरी किम र ट्रम्पबीच भियतनाममा पनि भेटवार्ता भएको थियो । त्यसैगरी अफगानिस्तानमा विद्रोही तालिवानी समूहसँग सहमति गरी आफ्ना सेना फिर्ता लिने भएको सहमतिलाई पनि ट्रम्पको सफलताको रुपमा लिइएको छ ।

आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनावमा लड्दै गर्दा चुनावी माहोललाई राम्रो बनाउन नसकेर अमेरिकाकामा आलोचित बन्दै आएका ट्रम्पलाई सन् २०२१ को नोबल पुरस्कारका लागि मनोनित गरिँदा त्यसले चुनावमा सकारात्मक परिणाम समेत आउन सक्ने विश्लेषणसमेत हुन थालेको छ ।