१७ जेठ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले कोरोना महामारी रोक्न डब्ल्यूएचओले आवश्यक व्यवस्थापन नगरेको भन्दै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने बताएका हुन् ।
डब्लुएचओ कोरोनाभाइरस फैलनबाट सुरुमा नै रोक्न असफल भएको उनको आरोप छ । शुक्रबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, “हामीले व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ, तर त्यसो भएन, आजबाट हामी डब्लुएचओसँगको नाता तोड्दै छौँ ।” उनले डब्लुएचओ पूरै चीनको नियन्त्रणमा भएको पनि आरोप लगाएका छन् । चीनले उक्त संगठनलाई दिने कोष मामुली मात्र भएको उनको दाबी छ । उनले भनेका छन्, “चीन हरेक वर्ष चार करोड डलर सहयोग गर्छ र उसको डब्लुएचओमा पूरा नियन्त्रण छ, तर अमेरिका ४५ करोड डलर सहयोग गर्छ ।”
ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि बताएका छन् । डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।
कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ । हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ ।









