२४ चैत
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् ।
आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।
बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । उनले आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् ।









