२ पुस
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले महाभियोग झेल्ने तेस्रो राष्ट्रपति बन्ने भएका छन्। अमेरिकामा महाभियोग देशद्रोह, भ्रष्टाचार र अनुचित क्रियाकलाप वा ठूलो अपराधको आरोपमा लाग्न सक्छ। अहिले अमेरिकाको तल्लो संसद्बाट माथिल्लो संसद्मा महाभियोगको प्रस्ताव जाने तरखरमा लागेको छ। उनीमाथिको महाभियोगको प्रक्रिया शुरु भएको लामो समय भइसकेको छ। तर, अमेरिकाको महाभियोगको प्रक्रिया फरक किसिमको हुन्छ। यसै फरक किसिमको प्रक्रिया पार गरेर ट्रम्पमाथिको महाभियोग प्रस्ताव अहिले निकै महत्वपूर्ण चरणमा पुगेको छ।
ट्रम्पमाथिको आरोप
ट्रम्पमाथि विपक्षी जो बाइडनलाई युक्रेनमा अनुसन्धान गर्न दबाब दिएका थिए। ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बाइडनमाथि अनुसन्धान गराउने शर्तमा मात्र सैन्य सहयोग जारी राख्ने भन्दै दबाब दिएका थिए। यसै विषयमा विपक्षीले उनीमाथि महाभियोगको प्रस्ताव ल्याइएको हो। अहिले उनीमाथि महाभियोगको लागि शक्तिको दुरुपयोग गरेको र संसद्लाई अवरोध पुर्याएको भन्दै दुई बुँदे महाभियोग लगाउने तयारी गरको छ। यी दुईमध्ये कुनै एक बुँदा पारित भए पनि उनीमाथिको प्रस्ताव पारित हुन्छ। तर, अमेरिकामा महाभियोग लगाउन तल्लो र माथिल्लो सदन दुवैमा आवश्यक प्रक्रिया पूरा हुनुपर्छ।
तल्लो सदनको प्रक्रिया
अमेरिकामा महाभियोगको पहिलो चरणमा सबैभन्दा पहिला तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले प्रस्ताव पारित गर्नुपर्छ। यस्तो प्रस्ताव तयार गर्न नै धेरै चरण पार गर्नुपर्छ। अहिले यो चरण अन्तिम अवस्थामा आइपुगेको छ। सर्वप्रथम तल्लो सदनमा ट्रम्पमाथि महाभियोग लगाउने माग गरिएको थियो। यस्तो माग संसद् बाहिरबाट पनि गर्नसक्ने व्यवस्था छ। उक्त प्रस्तावलाई तल्लो सदनकी सभा अध्यक्ष निक्की पेलोसीले अघि बढाउने आदेश दिएकी थिइन्। उनले यो प्रक्रिया शुरू गरेको घोषणा गरेसँगै आधिकारिक रुपमा ट्रम्पमाथिको महाभियोगको प्रक्रिया शुरु भएको थियो। यससँगै शुरूमा महाभियोगबारे सोधपुछ र अनुसन्धान शुरू भएको थियो। यो क्रममा ट्रम्पले तल्लो सदनमा यसबारे सोधपुछको लागि बनाइएको कमिटिले सोधेको प्रश्नको पनि उत्तर दिएका थिएनन्।
यो प्रस्तावबारे तल्लो सदनका ६ ओटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरेका थिए। समितिले महाभियोग लाग्न सक्ने विषयमा प्रमाण संकलन गरेका थिए। यसरी संकलन गरिएको प्रमाण उनीहरूले सदनभित्रै बनाइएको अर्को न्यायिक समितिलाई बुझाएका थिए। यसले महाभियोगको प्रस्तावमाथि पुनर्विचार र सुनुवाईको काम गरेको थियो। त्यसका लागि विभिन्न पक्षलाई बयान दिन बोलाएको थियो। यो क्रममा ट्रम्पका सहयोगीहरुले पनि उनको विपक्षमा बयान दिएका थिए।
यससँगै उक्त समितिका सदस्यको बहुमत निर्णयबाट महाभियोगको प्रस्तावमा मतदानका लागि अनुमति दिने निर्णय गरिसकेको छ। अबको साता तल्लो सदनमा ट्रम्पको महाभियोग प्रस्तावबारे मतदान हुनसक्ने अपेक्षा गरिएको छ। त्यसका लागि विधिवत् प्रस्तावका रूपमा महापभयोगको प्रस्ताव विचारार्थ तल्लो सदनमै पेश गरिन्छ। त्यहाँ महाभियोगका प्रत्येक बुँदामा छुट्टाछुट्टै मतदान हुन्छ। यसमध्ये कुनै एक बुँदामात्र पारित भए पनि अर्को चरणको प्रक्रिया शुरू हुन्छ। अहिले महाभियोगको दुई बुँदामा मतदानको तयारी भइरहेको छ। त्यसका लागि तल्लो सदनबाट उपस्थित भएर मतदान गर्ने सांसदको सामान्य बहुमत पाए हुन्छ।
४३५ सदस्यीय तल्लो संसद्मा सबै सांसद उपस्थित भएर मतदान गरे भने बहुमतका लागि २१८ मत आवश्यक हुन्छ। तल्लो संसद्मा विपक्षी डेमोक्रेट्सको २३५ सीट छ भने रिपब्लिकनको १९८ सीट छ। ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपति हुन्। तल्लो संसद्बाट प्रस्ताव पारित भए महाभियोग लागेको मानिन्छ। ट्रम्पलाई महाभियोग लाग्नुको अर्थ उनी अब पक्का आफ्नो पदबाट हट्छन् भन्नेचाँहि होइन। त्यसका लागि अझै धेरै प्रक्रिया बाँकी नै छ। साथै अमेरिकाको महाभियोगको प्रक्रिया केही जटिल पनि छ।









