८ असोज
काठमाडौं । पाकिस्तानमा मङ्गलबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको मिरपुरमा यसको सबैभन्दा बढी असर पुगेको छ । मिरपुरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी दिए ।
भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । भूकम्पको मापन भने फरक फरक गरिएको छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ५.८ रेक्टर स्केलको रहेको जनाएको छ ।









