१० साउन
पर्वत । पर्वतको कुस्मा नगरपालिका र आसपासका क्षेत्रमा होटल तथा रेष्टुरेन्ट ब्यबसायलाई मर्यादित बनाउने निर्णय भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको संयोजनमा भएको छलफल कार्यक्रममा राती १० बजे सम्म होटल तथा रेष्टुरेन्ट खुल्ला गर्ने सहमति भएको हो । होटल तथा रेष्टुरेन्ट ब्यबसायलाई मर्यादित बनाउने समेत निर्णय भएको छ ।
केही दिन पहिले कुस्मामा भएको अन्तरकृया कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यबसायमा अर्मादित क्रियाकलाप बढेको लगायतका गुनासा राखेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको अनुरोधमा उद्योग बाणिज्य संघले ब्यबसायी संग भेला राखेको हो । होटल तथा रेष्टुरेन्टमा मदिरा बिक्रीको समय निर्धारण गर्ने, अपराधिक क्रियाकलाप निरुत्साहित बनाउने सहमति भएको छ । सहमति कार्यान्वयनका लागि एक समिति बनाउने र त्यसले ब्यबस्थित गर्ने बिषयमा सुझाब दिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।
भेलामा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले होटल तथा रेष्टुरेन्ट ब्यबसायलाई सुरक्षित, अनुशासित र ब्यबस्थित गरेर चलाउन आग्रह गर्नुभयो । कानुनले निषेध गरेका क्रियाकलाप हुँदा प्रहरी र प्रशासनले काबार्ही गर्ने चेतावनी दिदै उहाँले सबै मिलेर सभ्य र मर्यादित ब्यबसाय गर्दा नै शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने भन्नुभयो । उहाँले बालबालिकालाई रक्सी किनवेच तथा उपभोग गर्न नदिने तथा बिक्री बितरण समेत ब्यबस्थित गर्न आवश्यक भएको कुरामा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले प्रहरीले होटल तथा रेष्टुरेन्टमा चेकजाँचका नाममा दुःख दिने कुनै निती नभएको स्पष्ट पार्दै कुनै प्रहरीले अनावश्यक रुप दुःख दिएमा सोझै आफुँलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँले ८० प्रतिशत अपराधका घटना मदिरा सेवनका कारण हुने गरेकाले अपराध नियन्त्रण गर्नका लागि मर्यादित ढंगले ब्यबसाय गरेर सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।


कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले कुस्मा नगरपालिकाले ब्यबसायलाई मर्यादित बनाउने अभियानमा रहेको बताउँदै त्यसका लागि सबै निकाय र कार्यालयहरु संग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नगरपालिका भित्र ब्यबसाय गर्नेले अनुमति लिने र ब्यबसाय कर तिरेर सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राम शर्मा लामिछानेले कुस्माका अधिकाँश होटल तथा रेष्टुरेन्टले मदिरा कारोबार गर्ने अनुमति नलिई ब्यबसाय सञ्चालन गरेको पाइएको भन्दै मदिरा बेचबिखन गने सबैले अनुमति लिन आवश्यक रहेको र नलिएमा काबार्हीमा पर्न सक्ने तर्फ सचेत गराउनुभयो ।
उक्तअवसरमा सहभागी ब्यबसायीहरुले धेरै तर्फ कर तिर्दा ब्यबसायीलाई हैरानी भएको, प्रहरीले दिउँसोको समयमा पनि होटलमा गएर ग्राहकलाई दुःख दिएको, राती होटल खोल्ने समय बढाउनुपर्ने लगायतका बिषय व्यवसायीले उठाएका थिए ।