९ साउन

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयललाई नभेटेको स्पष्ट पार्नुभएको छ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले प्रधानमन्त्रीलाई रअका प्रमुखले भेटेको खवर पुष्टी गर्न चूनौति पनि दिनुभयो ।
प्रधानमन्त्री बाहेकका अन्य नेता कस–कसले भेटे भन्नेमा आफूलाई केही थाहा नभएको मन्त्री बाँस्कोटाले दाबी गर्नुभयो । बास्कोटाले तथ्य, प्रमाण बिना नलेख्न र नबोल्न सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुभयो ।

भारतको रअ, पाकिस्तानको आइएसआइ, अमेरिकाको सीआईए जस्ता जुनसुकै देशका गुप्तचर संस्थाका अधिकारीलाई भेट्ने बित्तिकै त्यही लाइनमा लागे भन्न नहुने उहाँको भनाई छ । त्यस्तै उहाँले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा प्रगति भएको बताउनुभयो ।

नेपालले अघि सारेका मध्ये ९ वटा आयोजना बिआरआईमा छनौट भएको भन्दै उहाँले त्यसमा चीनको पनि अनिच्छा नभएको र नेपाल पनि चुपचाप नबसेको बताउनुभयो । गत साउन ६ गते बसेको मन्त्रीपरिषद बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई विश्व बैंक समुहको अन्तराष्ट्रिय विकस संस्थाबाट ऋण सहायताका रुपमा प्रस्तावित १३ अर्ब रुपैयाँ स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ भने कञ्चनपुर जिल्लामा मृत्यु भएका चन्द्रदेव भट्ट र रौतहटमा जीप दुर्घटनामा परि मृत्यु भएका थुनुवाहरु निर्मल शाह र रमेशकुमार चौधरीको परिवारलाई ५ र ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिइएको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोगको सचिवालय सचिवमा र जल तथा उर्जा आयोगको सचिवालय सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सुरुवा गर्ने निर्णय गरेको छ ।