४ असार

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित ईलाका वन कार्यालयमा राखिएको १०६ घार मौरी आज बिहान भएको वर्षाको भेलले बगाएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–४, सागरनाथका पुराना मौरीपालक किसान हेमराज देवकोटाको ७१ घार र ज्यामिरे मौरीपालक सहकारी संस्था दुम्कीवास, नवलपरासीको ३५ घार मौरी वर्षाको भेलले बगाएको हो ।

बेमौसममा खानेकुरा खुवाएर जोगाइराखेको मौरीमा वर्षाले क्षति पु¥याएपछि किसान निराश भएका छन् । उत्पादन हुने समयमा मौरी बगाउँदा १० लाख बढीको क्षति भएको सागरनाथका मौरीपालक किसान देवकोटाले गुनासो गर्नुभयो ।

असार अन्तिम साता भएको भीषण वर्षाले पनि सो स्थानमा चरणका लागि ल्याइएको ५० घार मौरी बगाएको थियो । सर्लाहीको उत्तरी भेग र चुरेका विभिन्न वनमा चराउन पु-याइने मौरी बाढी र वर्षाको भेलले वर्सेनी बगाउने गरेको छ । चरण क्षेत्रको अभावमा मुस्किलले केही किसानले गरिरहेको मौरीपालनमा यसरी हरेक वर्ष समस्या आउँदा यो व्यवसायबाट पलायन हुनेहरु बढेका छन् ।