४ साउन

पर्वत / पर्वतमा निर्माणाधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोजनामा कर्मचारी र आयोजना बिच फेरी बिबाद शुरु भएको छ ।
सहमति बिपरित आयोजना प्रर्बद्धक मोदी इनर्जी लिमिटेडले नयाँ बिज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बिचमा बिबाद शुरु भएको हो । न्यु कालीगण्डकी दैनिकले समाचार छापेको छ ।
कर्मचारी स्थायी गर्ने बिषयमा असार ९ गते दुबैपक्ष बिचमा भएको सहमति उल्लंघन गर्दै ब्यबस्थापनले नयाँ बिज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन । जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधीसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत कर्मचारी र ब्यबस्थापनका बिचमा २३ पदमा बिज्ञापन खुलाउने र कार्यरत कर्मचारलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्ता देखि रोकिएको निर्माण कार्य सुचारु भएको थियो । तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको बिज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुवात देखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कार्मचारीलाई प्रोत्साहन रकम दिने बिषयमा सहमति भएको छ । आयोजनाको बिद्युत उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला बिज्ञापन आब्हान गर्ने तथा ४० बर्ष नाघेका कामदारलाई १ लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो । अहिले २३ पदमा बिज्ञापन खुलाईएपनि कार्यरत कर्मचारीले आबेदन दिन नसक्ने र सबैजसो पदमा प्राबिधीक पद भएकाले सहमति उल्लंघन भएको कर्मचारी सौरभ पौडेलले बताउनुभयो ।

कर्मचारीहरुले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई सहमति उल्लंघन भएको बिषयमा जानकारी गराएका छन । उनीहरुले पूनः बिज्ञापन आब्हान नगरिए आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन । आयोजनाले असोज महिनाभित्र बिद्युत उत्पादन गर्ने तयारी थालेको छ । असार अन्तिम सम्ममा बिद्युत उत्पादन गर्ने भनिएपनि सुरुङ्ग मर्मत गर्नुपरेका कारण असोज सम्म पुग्ने बताइन्छ । प्रजिअ नेपालले सहमति बिपरित गरिएको बिज्ञापन रद्द गरेर सहमतिलाई कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि पहल गर्ने आश्वासन कर्मचारीलाई दिनुभएको छ ।

उहाँले ब्यबस्थापनले सहमति कार्यान्वयन गर्नुपर्ने पक्षमा आफुँ रहेको भन्दै कर्मचारीलाई आश्वस्त पार्नुभयो ।
निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परिक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भैरहेको छ । बैषाखको अन्तिम साता परिक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भैरहेको छ । कुस्मा नगरपालिका ७ चुवाको परादी स्थित पावरहाउस देखि मोदी गाउँपालिकाको पातीचौर सम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बिचबिचमा कम्जोर भूभाग भेटिएको थियो ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।असोजमा पनि उत्पादन नथाल्ने हो भने पेनाल्टी तिर्नुपर्ने अबस्था आउनेछ ।
मोदी इनर्जी लिमिटेडका तर्फबाट जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले एक हप्ताको समय माग गरिएको र कर्मचारी संगको सहमति कार्यान्वयन गरेर जाने आश्वासन दिनुभएको छ ।