३ साउन

निर्वाचन आयोगले मङ्सिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त अहिले रिक्त छन् । निर्वाचन आयोगको तथ्याङक अनुसार अहिले   स्थानीय तहमा वडाध्यक्ष ३६, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ पद रिक्त छन्  ।

यस्तै स्थानीय तहमा वडा सदस्य ४ सय १५, महिला सदस्य २ सय ११, दलित महिला सदस्य २ सय ३८ र कार्यपालिका सदस्य ३९ पद पनि रिक्त छन् ।  तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी निर्वाचित भएको कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ खाली भएको छ । त्यस्तै प्रदेशसभातर्फ हरिशरण लामिछानेको मृत्युका कारण भक्तपुरको १ ( क ), उत्तरकुमार वलीको निधनका कारण दाङ ३ (ख) तथा टेकबहादुर घर्तीको निधनका कारण बागलुङ २ (ख) रिक्त छन् ।

स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधनका कारण ती स्थान रिक्त छन् । सबै हाल रिक्त रहेका स्थानीय तह तथा क्षेत्रमा  आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको छ ।

निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्ने भएकाले अहिले उपनिर्वाचनको तयारी तीव्र पारिएपनि सम्पन्न हुनका लागी मङ्सिर सम्मको समय लाग्ने भएको हो ।