२ साउन
सुनिल आउजि धनगढी । धनगढीमा आज बिहीबार साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो । विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएका छन् ।
घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । घाइतेको ठेगाना खुल्न सकेको छैन् ।
घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ ।
प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने बताए ।
उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।









