३१ असार
काठमाडौं । निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित संघीय निजामती सेवा, गठन, सञ्‍चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा सोमबार बसेको बैठकमा दोहोरो निवृत्तिभरण लिन नपाइने विधेयकको बुँदामा सहमति जुटेको हो।

बैठकमा निजामती सेवामा पाँच वर्ष अवधि पूरा नगरी कुनै सेवा सुविधा नपाइने, छात्रवृत्तिमा अध्ययनपछि अनिवार्य सेवा गर्नुपर्ने, सेवाका अवधिमा विदेश पलायन हुनेलाई सञ्चयकोषबाहेक अन्य सेवासुविधा नपाइने बुँदामा समेत सहमति भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई अझ प्रभावकारी बनाउन विधेयक आएको स्पष्ट पार्दै विधेयकमा अवकाशपछि राष्ट्रसेवकले दोहोरो सुविधा लिन नपाइने व्यवस्था गरिएको जानकारी दिए।