२३ असार
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जितेको छ । आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो ।

कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।

खेलको १५ औं मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पाओलो गुरेरोले ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए ।  तर पहिलो हाफको इन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को अन्तरमा ल्याए ।

७० औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।