१० चैत
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ र त्यो पार्टीभित्र देखिएको मतान्तर आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन, गुमनाम प्रदेश प्रमुख र विद्यार्थी राजनीतिको पछिल्लो प्रवृत्तिलाई पनि आजका पत्रिकाहरुले केलाएका छन् ।
कान्तिपुरले विप्लव नेतत्वको नेकपाको अन्तरकुन्तर केलाएको छ । तेस्रो वरीयताका नेता विप्लवसहित ९ नेता पक्राउपछि ठूलो धक्का खाएको यो समूहका अन्य नेता पनि निगरानीमा रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुरका अनुसार, शंकाको घेरामा रहेका प्रकाण्ड अहिले विप्लवसँग सम्पर्कमा समेत छैनन् । हाल उपत्यकामै रहेका उनी निष्क्रियजस्तै छन् । उनलाई विज्ञप्ति जारीलगायतका काम नगर्न निर्देशन दिइएको छ ।
कान्तिपुरजस्तै नेपाल साप्ताहिकले पनि विप्लवको हेर्डक्वार्टर नै विभाजित बनेको लेखेको छ ।
नेपाल साप्ताहिक लेख्छ– विप्लव समूहको राजनीतिक संगठन भने निकै कमजोर छ । स्थायी कमिटीका नेताहरु विभाजित देखिन्छन् । भातृ संगठनमा पकड राख्न नेताहरुबीच होडबाजी देखिन्छ । आफूअनुकूल नेतृत्व नछानेपछि नेता खड्गबहादुर विश्वकर्माको पहलमा पत्रकार संगठनका पाँच नेता निष्कासनमा परे ।
नेपालका अनुसार, आर्थिक विवादमा समेत फसेको छ, विप्लवको पार्टी । आर्थिक विभाग प्रमुख प्रकाण्ड र सुदर्शनबीच विवाद झ्याँगिएर पाँच सदस्यीय स्थायी कमिटी नै विभाजित छ ।









