२८ असोज

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ। बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलालाई अन्तिम पटक शनिबार राति १०ः२० बजे चिकित्सकले हेरेर निधन भइसकेको घोषणा गरेका हुन् ।

चिकित्सकले हेर्दा केही समय अगाडि नै बास्तोलाको निधन भइसकेको बताएका थिए । सो आँकडा अनुसार राति ९ः२० तिरै बास्तोलाको निधन भएको हुन सक्ने काफ्लेले बताए ।

बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो  ।  उनलाई अस्पतालले दिएको लाइफ सपोर्ट झिकिएको थियो ।

त्यसपछि बास्तोलालाई घरमै लगिएको थियो । उनको घरमै दश दान गरिएको थियो। बास्तोलाको अवस्था निकै जटिल बनेपछि हिन्दू परम्परा अनुसार जिउँदो अवस्थामा गरिने कार्य दश दान गरिएको थियो ।

बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका थिए ।
अन्तिम अवस्थामा पुगेको जानकारी पाएपछि काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशाांक कोइराला, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक बास्तोला निवास खुमलटार पुगेका थिए ।

बास्तोलाको जीवनको अन्तिम क्षणका अवस्थामा उनको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकको भीड लागेको छ ।

बास्तोला ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका थिए । उनलाई त्यतिबेला मस्तिष्कघात भएपछि भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँवमा उपचार भएको थियो ।

त्यसपछि उनको काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई प्रदान गरेको थियो ।

दाहसंस्कारबारे अझै समयको टुंगो नलागेको स्वकीय सचिव काफ्लेले बताए ।  ‘पार्टीले गर्ने निर्णय भोलि नै थाहा होला , छोरीहरु पनि आउनु पर्ने भएकाले आइतबार साँझ नभइ दाहसंस्कार हुने सम्भावना छैन ।’

काफ्लेका अनुसार एक छोरी इटहरीमा छिन् भने अर्की छोरी बेलायतको लण्डनमा छिन् । इटहरीबाट आइतबार बिहानै आइपुग्ने र लण्डनबाट आउन साँझ ५ बज्ने उनले बताए । पार्टी कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन ।