१२ भदौं
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ?
नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’
तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो ।
एकताका विषयमा कतिपय नेताले सार्वजनिक रुपमै पार्टी नेतृत्वलाई सुझाव समेत दिएका छन् । सोमवार राती सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्र केही विषयमा असन्तुष्टि रहेको स्पष्ट संकेत दिएका छन् । ‘जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केहि मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिँदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ति भएका हुन् भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ,’ नेता भट्टराईले भनेका छन् ।
उपाध्यक्ष पनि लाभको पदमा छन् भने सचिवले स्वतः नेतृत्व पाउनुपर्छ वा वरियताको आधारमा नेतृत्व टुंगिनुपर्ने नेपाल समूहको भनाई छ । तर, विभिन्न जिल्लामा यो मापदण्ड विपरित आफ्नो तरिकाले नेतृत्वका लागि सिफारिस गरिएको नेपाल समूहको बैठकको निश्कर्ष रहेको ती नेताले बताए । रातोपाटीवाट









