१३ साउन
काठमाडौं ।नेपाली कांग्रेसका महिला सांसदहरुले शुक्रबार कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
शनिबार एक विज्ञप्ती जारी गरी कांग्रेस महिला सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया नाबालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन् । उक्त घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कांग्रेसका महिला सांसदहरुले संसदमा समेत आवाज उठाउने जनाए ।
एक बर्षभित्र कञ्चनपुर जिल्लामा १७ वटा बालात्कारका घट्नाहरु घटेको बताउँदै जारी विज्ञप्तीमा भनिएको छ,‘पहिलेदेखि नै यस्ता घट्नाहरु यस जिल्लामा श्रृखंलाबद्ध रुपमा घटी एक बर्ष्भित्रमा १७ जना बलात्कृत भएका छन् भने यही असारदेखि साउन ११ गतेसम्म ४ जना बालिकाहरु बलात्कृत भएका छन् । तीमध्ये ३ जनाको हत्या र १ जना जिवित छन् । प्रहरी प्रशासन मुकदर्शक भएर घट्नालाई आलटाल पार्न खोज्नु सरकारको गैरजिम्मेवारीपुर्ण हो, सरकारको यो रवैया अमानवीय पाशविक, यातनालाई प्रशय दिएको भान नै हो ।’
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद डा. डिला संग्रौला, सांसदहरु लक्ष्मी परियार, महेन्द्र कुमारी लिम्बु, रंगमती शाही, ज्ञान कुमारी छन्त्याल, नमिता कुमारी चौधरी, विमला नेपाली र मिना सुब्बाले उक्त घट्नाको चर्को बिरोध गरेका छन् ।









