११ साउन
मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको लण्डनस्थित मैडम तुसाद म्यूजिममा मैन मूर्ति राखिने भएको छ । नायिका दीपिकाले नै फेसबुक लाइभमार्फत यो कुराको जानकारी दिएकी हुन्।
लण्डनको म्युजियममा आफ्नो मैन मूर्ति राखिने विषयमा दीपिका निकै उत्साहित छिन् । उनी केही दिनअघि मात्र मूर्तिका लागि नाप दिन लण्डन गएकी थिइन् । यो मूर्तिको निर्माण आगामी वर्षसम्म सम्पन्न हुनेछ । लण्डनपछि दिल्लीको मैडम तुसाडमा पनि दीपिकाको त्यस्तै मूर्ति राखिनेछ।
मैडम तुसादमा यसअघि लण्डनमा अमिताभ बच्चन, ऐश्वर्या राय, शाहरुख खान, सलमान खान, ऋतिक रोशन, माधुरी दीक्षितको मैन मूर्ति स्थापना गरिसकिएको छ ।दीपिका विशाल भारद्वाजको नयाँ फिल्ममा देखिँदैछिन् । तर फिल्मका अर्का कलाकार इरफान खानको स्वास्थ्य समस्याले गर्दा सुटिङ रोकिएको छ । इरफान लण्डनमा न्युरोइन्डोक्रिन ट्युमरको उपचार गराइरहेका छन्।
हालै मात्र दीपिकाले एक सुपरहिरो फिल्ममा काम गर्नका लागि हस्ताक्षर गरेकी छन् । जुन फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । यो भारतको पहिलो फिमेल सुपरहीरो फिल्म हुनेछ ।दीपिकाको प्रेम सम्बन्धको पनि बलिउडमा उस्तै चर्चा छ । समाचारअनुसार दीपिका प्रेमी रणवीर सिंहसँग आगामी नोभेम्बरमा विवाह गर्ने तयारीमा छिन् । विवाहपछि उनको बैंलोर र मुम्बईमा रिसेप्सन हुनेछ ।









