७ साउन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली सरकारलाई सदनमा जनताले दिएको दुईतिहाई बहुमत सडकबाट फिर्ता लिनसक्ने खतरा बढेको बताउनुभएको छ । सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको सभाहल सिलन्याससँगै शंकरपोखरीमा आयोजना गरिएको ३६ औं वीपी स्मृति दिवस कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनुभएको हो । नेता जोशीले नेकपाले चुनाबअघि जनतालाई उधारो सपना बाँडेर ल्याएको बहुमतलाई ६ महिनासम्मपनि टिकाउन मुस्किल भएको उल्लेख गर्दै बहुमतको दम्भले केपी ओलीलाई अवशानको बाटोतर्फ डोर्याईरहेको दावी गर्नुभयो । ‘जनतालाई ढाँटेर र भ्रम छरेर चुनाब जित्न त सजिलो होला तर धेरै समय टिकाउन सकिन्न; अहिले ओली सरकारलाई चुनाबअघिको उधारो सपना गलपासो भइरहेको छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले हिंसात्मक अभिमुखिकरणबाट आएकाहरू कहिल्यै पनि लोकतन्त्रबादी हुन नसक्ने दावी गर्दै ओली अधिनायकविरूद्धको जनमत अहिले देशैभरि बढिरहेको वताउनुभयो । ‘अब ओलिसँग कित सच्चिने कित सकिने भन्दा अर्को विकल्प छैन ।’- जोशीले भन्नुभयो । ‘ तर नेपाली काँग्रेस ओलि सकिने होइन सच्चिउन भन्ने चाहन्छ ।’ नेता जोशीले कम्युनिष्टहरूको घर त भत्किने निश्चित भएको भन्दै उनीहरूको घर भत्किँदा त्यहाँ ओत नपाएका धेरै जनतालाई ओत लाग्न हाम्रो आफ्नो घर बलियो बनाउन जरूरी रहेको वताउनु भयो ।
उहाँले अब काँग्रेसभित्र संगठन शुद्धिकरणरको अभियान आवस्यक रहेको वताउँदै गाउँगाउँबाट धेरै क्रियाशील बनाउनेभन्दा पनि निष्ठावान र असल कार्यकर्ता उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । ‘पार्टीलाई ठूलो बनाउने नाममा फोहोर जम्मा नगरौं बरू संगठन सानो होस असल कार्यकर्ता निर्माण गरौं ।’- केन्द्रीय सदस्य जोशीले भन्नुभयो । उहाँले वीपीको निष्ठा; त्याग र दूरदर्शिताका कारण संसारले मानेको उल्लेख गर्दै वीपी कोइरालाको विचारलाई अंगिकार गरेर अघि बढ्न सबै कार्यकर्तालाई सुझाव दिनुभयो । नेता जोशीले सहिद हरिदत्त तिवारी र भोजराज भुषालजस्ता व्यक्तित्वहरूको रगत र बलिदानबाट सिंचित भएको शंकरपोखरीले भोलिका दिनमा सहिदलाई साक्षी राखेर संगठन सुदृढिकरणमा लाग्न अपिल गर्नुभयो ।
कार्यक्रममा सहिद हरिदत्त तिवारीका ज्येष्ठ सुपुत्र एवं काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले चुनाबमा भएको हारजितलाई लिएर पश्चाताप गर्नुभन्दा काँग्रेसको भोलिको भविस्यका लागि एकढिक्का भएर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो । तिवारीले पछिल्लो समयमा काँग्रेस कमजोर हुनुको मूख्य कारण कार्यकर्तामा अनुशासनहिनता बढ्दै जानु र पार्टी नेतृत्वको निर्देशन नमान्नु भएको उल्लेख गर्दै पार्टीको निर्देशन नमान्ने र सांगठानिक अनुशासन उलंघन गर्नेलाई अब कार्वाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी शुद्धिकरण नगरि सशक्तिकरण नहुने भन्दै गाउँगाउँबाट शुद्धिकरण र सशक्तिकरणको अभियान सँचालन गर्न सुझाव दिनुभयो ।
नेपाली काँग्रेस शंकरपोखरी वार्ड इकाई समितिका सभापति एवं फनपा ३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सहारा वेगम; नेपाली काँग्रेस थापाठानाका सभापति थमानसिंह थापा; नेपाली काँग्रेस आर्थरका सभापति रूद्रमोहन रिमाल; नेपाल भूपू सैनिक संघ पर्वतका सभापति सु खड्कबहादुर कार्की; साविक ८ नं वडाका वडा संयेजक बलबहादुर थापा; नेका शंकरपोखरीका सल्लाहकार गणेशबहादुर थापा; सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानका सचिव नरबहादुर थापा; नेपाल शिक्षक संघ फलेवासका सचिव धनबहादुर थापा; सहिदपुत्र एवं पार्टीका सल्लाहकार गिरीजाप्रसाद तिवारी; दलित प्रतिनिधि पबर्णबहादुर दर्जी र शिक्षक शिब पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य एवं पार्टी निर्मला रेग्मी र कार्यक्रमको संचालन पार्टी सचिव शिब तिवारीले गर्नुभएको थियो । काँग्रेस केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा नेपाल सरकारबाट उपलव्ध भएको ५० हजार रुपैयाँको चेक अति विपन्न प्रेमकली दर्जीलाई हस्तान्तरण गर्नुभएको थियो ।