३१ असार
पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् । असार ९ गतेबाट सम्पर्कविहीन बनेका पौडेलको सेतीनदी किनार भीमादमा हिजो मृत अवस्थामा भेटिएका हुन् । भीमाद ६ सेतीनदी किनारमा शव भेटिएको र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ । असर ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।
पौडेल उक्त दिन बिहान ५ बजे घरमा सानो पत्र लेखेर हिडेपछि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनले आत्महत्या गरेको हुनसक्ने आधारमा सेती नदीमा खोज्दै खाएको थियो। पौडेलले उक्त बिहान श्रीमतीका नाममा एउटा पत्र लेखेका थिए। पत्रमा ‘उर्मीला, तिमीले यति धेरै माया दिदादिँदै पनि जीवनभर साथ दिन सकिन। तीनवटा कोपिला (छोराछोरी) तिम्रो जिम्मामा छाडेर जाँदैछु। चारैजना राम्रोसँग बसे अलबिदा’ उल्लेख छ। साथै आफुले प्रयोग गर्दै आएका दुई मोबाइल, सुनको सिक्री र औँठी पनि छाडेका थिए।
सोही बिहान साढे ५ बजेतिर एक व्यक्तिले सेती नदी माथिको महेन्द्र पुलबाट हामफालेको स्थानीय शान्ती श्रेष्ठले जिल्ला प्रहरीलाई जानकारी गराएकी थिइन्। महेन्द्रपुलको चोकमा रहेको एक सुनचाँदी पसलको सिसीटिभीमा पनि पौडेल सेती नदीमाथिको पुलसम्म पुगेको देखाएको थियो। तर त्यसपछिको अवस्थाबारे थाहा नभएपछि प्रहरीले आत्महत्याको शंकामा खोजी र अनुसन्धान गर्दै आएको थियो।









