२५ असार
काठमाडौं । थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई फिफाले विश्वकप फाइनल हेर्ने निम्तो दिएको छ । फिफा अध्यक्ष जियानी इन्फन्तिनोले विश्वकप फाइनल हेर्न गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई निम्तो दिएका हुन् ।
इन्फन्तिनोले गुफामा थुनिएका सबैको सकुशल उद्दार गरिने र आगामी १५ जुलाईमा हुने विश्वकप फाइनल हेर्न उनिहरुले पाउने आशा गरेको बताएका छन् । विश्वकपको फाइनल रुसको मस्कोमा १५ जुलाईमा हुदैछ ।
वर्षाले गर्दा गुफामा फसेका बालकहरु सोमबारसम्म सबै निकालिने गरी तयारी थालिएको छ । आइतबार फसेका १३ जनामध्ये ४ जनामात्र निकालिएको थियो । १६ दिनदेखि गुफामा फसेका खेलाडीमध्ये १२ घण्टाको विशेष अप्रेशनपछि ४ जना निकालिएको छ ।
सोमबार सकभर सबैलाई निकाल्ने गरी अप्रेशन थालिएको पनि उद्धार टोलीको योजना छ । यो अप्रेशनमा अमेरिका, बेलायत, जापान, चीन, अष्ट्रेलिया लगायत ९० गोताखोर सहभागी छन् । हजारौंको संख्यामा प्रत्यक्ष परोक्ष सहभागीता रहेको बताइएको छ । गत जुन २३ तारिखमा गुफा हेर्न गएका उनीहरु भारी वर्षापछि आएको बाढीमा फसेका थिए ।









