३१ जेठ
काठमाडौं । विहिबारदेखि रुस विश्वकप सुरु हुँदैछ । विश्वकपको सुरुवात आयोजक रुस र साउदी अरेबियाको खेलबाट हुँदैछ राति पौने ९ बजे यी दुई टोलीहरु आमने सामने हुँदैछन् ।

फिफा र्‍याङकिङमा दुवै टिम कमजोर रहेका मुलुकहरु हुन् । फिफा र्‍याङकिङमा रुस ७० औं स्थानमा रहेको छ भने साउदी अरेबिया ६७ औं स्थानमा रहेको छ ।

समूह चरणबाटै बाहिरिने टोलीमा यी दुई टोलीहरु पनि हुन सक्छन् । यो समुहमा उरुग्वे र इजिप्टजस्ता टोलीहरु पनि रहेको कारण यी दुई टोलीले माथिल्लो चरणमा प्रवेश गर्नका लागि चुनौती छ ।

यो खेलको लागि भने रुस र साउदी अरेबियाको बीचमा निकै ठुलो प्रतिस्पर्धा हुनसक्ने देखिन्छ ।

पछिल्लो छ खेलमा जम्मा केवल दुई खेलमा मात्र बराबरीको नतिजा हासिल गरेको छ । घरेलु टोलीको रुपमा यो विश्वकपमा छानिएको टोलीले सन् २०१७ को अक्टोबरयता कुनै पनि जित हासिल गर्न सकेको छैन ।

यद्यपि मैत्रीपूर्ण खेलले मात्र टोलीको समग्र क्षमताको आँकलन भने गर्न सकिँदैन । रुसले सन् २०१७ को कन्फेडेरेसन कपका साथै सन् २०१६ को युरोपियन च्याम्पियन्समा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेको थिएन । दुवै प्रतियोगितामा उसले समुहचरण पार गर्न सकेको थिएन ।

रुसका प्रशिक्षक स्टानिस्लाभ चेस्केसोभ पनि नतिजाको हिसाबमा कमजोर मानिन्छन् । उनको प्रशिक्षणमा रसियाले कमै मात्र खेलहरुमा जित हासिल गरेको छ ।

सन् २०१८ मा एउटा खेल पनि जित्न नसकेको र अघिल्लो वर्षको कन्फेडेरेसन कपमा पनि राम्रो प्रदर्शन गर्न नसकेको टोलीका लागि विहीबारको खेल जित्नको लागि केही दबाब पनि हुनसक्छ । उद्घाटन खेलमा रुसले ४–२–३–१ को संरचनामा आफ्ना खेलाडीहरु मैदान उतार्न सक्छ ।

साउदी अरेबियाको टोली पनि रुसको तुलनामा धेरै बलियो टोली भने होइन । साउदी अरेबियाको व्यवस्थापनमा पनि केही समयअघि किचलो देखिएको थियो ।