जनकपुरधाम । प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ ।

महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् ।
प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसद मञ्जुले बताइन् ।

उनले भनिन् ‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने काम भयो । दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस्, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’

प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।