????????????????????????????????????

२० जेठ
काठमाडौं,राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ, यसले राजपालाई कुनै असर हुँदैन्।’
सांसद समेत रहेका नेता झाले प्रदेश नम्बर २ मा राजपाको कारणले सरकार नढल्ने पनि विश्वास दिलाए । उनले भने,‘ढुक्क हुनुहोस् राजपाकै कारण २ नम्बर प्रदेशको सरकार ढल्दैन, किनकी केन्द्र र प्रदेश सरकारको हैसियत अलग अलग हो, प्रधानमन्त्रीको निर्वाचनमा पनि हामीले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको हो, किनकी उहाँहरुले प्रदेश नम्बर २ मा हामीलाई समर्थन गर्नुभएको थियो, अदला बदली गरेको हो, त्यस्तै फोरम र राजपाले पनि समर्थन गरेपछि दुई तिहाईभन्दा बढिको बहुमत सरकारसँग हुन्छ, यसो हुँदा संविधान संशोधन हुन्छ कि भन्ने हाम्रो एकतर्फी झिनो आशा पनि थियो र छ, जुन दिनसम्म यो आशा रहन्छ हामी सरकारलाई दिएको समर्थन जारी राख्छौं।’
झाले आफूहरुले ओली नेतृत्वको सरकारलाई विना शर्त समर्थन गरेको पनि जिकिर गरे । त्यस्तै उनले बजेट आउनुपुर्व नै आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेर सुझाव दिएको पनि जनाए ।
उनले भने,‘अहिले बजेट आएको छ, बजेटमाथि छलफल जारी छ, नेकपाले पछिल्लो समय एकपछि अर्को छलाङ हान्ने काम गरिरहेको छ, बजेटलाई पनि संशोधन गरेर अघि बढायो भने राम्रो हुन्छ।’ यद्धपी उनले सरकारले बजेटलाई पारित गर्न सक्ने बहुमत रहेको पनि बताए । उनले भने,‘सरकारले अहिले पाडोलाई भैंसी र भैंसीलाई पाडो भनेर पनि पारित गर्न सक्छ।’
फरक प्रसँगमा उनले संसद सञ्चालन नियामावली सर्वसम्मतीमै पारित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ढिलै होस्, तर छोरा होस् भनेझैं नियामावलीपनि सर्वसम्मतीबाटै पारित होस्।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संसद सञ्चालन नियामावली तदर्थ चलाउनु राम्रो नभएको बताए । उनले भने,‘नियामावली चाँडै नै सहमतिमा पारित गर्नुपर्छ, सबैको सहमतिमा पारित गर्ने समझदारी भएको छ, तर बहुमतमा पारित गर्दा यसले नकारात्मक असर गर्छ।’
सरकारले ल्याएको बजेटबारे मुख्यमन्त्रीहरुले नै असन्तुष्टि पोखेको बताउँदै नेता यादवले भने,‘नेकपाकै मुख्यमन्त्रीहरुले बजेटबारे असन्तुष्टि जनाएका छन्, यसले गर्दा थाहा हुन्छ, बजेटको पक्ष वा विपक्षबारे बुझ्न सजिलो हुन्छ।’
उनले बजेट संविधान र संघीयताको मर्म र भावना विपरित रहेको आरोप लगाए । ‘यो सरकारले धेरै ठूला–ठूला बाचाहरु गरेको थियो, तर बजेटमा हेर्दा थाहा हुन्छ कि स्थानीय तहलाई जम्मा १९ प्रतिशत अनि प्रदेशमा १४ प्रतिशतमात्रै, बजेट नीति तथा कार्यक्रम विपरित आएको छ।’ उनले सरकारले कम्युनिष्ट व्यवस्था लाद्नेगरि बजेट ल्याएको आरोप लगाए ।
यादवले सरकारले आफ्ना कार्यकर्ताहरुको भरणपोषण् गर्नको लागि बजेट ल्याएको पनि गम्भिर आरोप लगाए । उनले थपे,‘शेरबहादुर देउवाजी नेतृत्वको अघिल्लो सरकारले ल्याएका राम्रा कार्यक्रमहरु हटाईएको छ, किड्नी, स्पाईनल ईन्जुरी, क्यान्सर रोगीहरुलाई मासिक पाँच हजार दिने देउवा नेतृत्वको सरकारले गरेको राम्रो निर्णय खारेज गरियो, यो दुःखलाग्दो कुरा हो, त्यस्तै ६५ वर्ष पुगेकाहरुलाई दिईने भनेको वृद्धभत्तापनि खारेज गर्यो।’ चुनावको बेला वर्तमान सत्तारुढ दलले वृद्धभक्ता ५ हजार पुर्याउँछु भनेर भाषणमात्रै गरेको भन्ने सिमित भएको पुष्टि भएको उनको गुनासो छ ।
बजेटबाट संघीयता कालान्तरमा अफापसिद्ध हुने कुरा देखाएको पनि यादवको भनाई थियो । उनले भने,‘७० प्रतिशत बजेट केन्द्रमा राखिएकोप्रति गम्भिर आपत्ति जनाए । उनले भने,‘सरकारको भनाई र गराईमा फरक देखियो, सरकार संघीयता फेल गराउनको लागि उद्धत छ।’
बजेट भनेको त ऐना भएकोले अहिलेको बजेटले गाउँलाई उपेक्षा गरेको उनको आरोप छ । युवा, प्रदेश तह, निजी क्षेत्र, वृद्धवृद्धाहरुलाई समेत बजेटले उपेक्षा गरेको उनको गुनासो छ । यादवले बजेटमा व्यापक सुधारको खाँचो औंल्याए ।
नेता यादवले वर्तमान सरकारले क्रान्तिकारी र सामाजिक रुपान्तरणको चर्को कुरा गरेपनि समाजलाई नै बजेटले बिर्सिएको गुनासो पोखे । बजेटले महँगी बढाएको पनि उनले बताए । उनले बजेटलाई संशोधन गर्नुपर्ने माँग गरे ।