१९ जेठ
विराटनगर : गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार मात्रै विराटनगर आएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिए लगत्तै विराटनगरमा शनिबार तीनजना पक्राउ परेका छन्। विराटनगरको जनआन्दोलन चोकमा गुणस्तरहीन काम गरेको भन्दै टुन्डिरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्तसहित तीनजनालाई पक्राउ गरिएको हो।

पन्तसँगै कन्ट्रयाक्टरका सुपरभाइजर विनय शाह र सडक विभागका सुपरभाइजर देवराज बराल पनि पक्राउ परेका छन्। निर्धारित मापदण्ड उल्लंघन गर्दै नाला जोडाइको काम गरिरहेको भनेर सर्वसाधारणले सूचनाका आधारमा महानगरपालिकाले अनुगमन गरेको थियो। पटकपटक चेतावनी दिँदासमेत गुणस्तरहीन काम नरोकिएपछि संलग्न व्यक्तिलाई पक्राउ गर्न थालिएको महानगर प्रमुख भीम पराजुलीले बताए। आवश्यक सिमेन्ट नमिसाई बालुवाकै भरमा जोडाइ गरिरहेको ६ लेन सडकको पश्चिमतर्फ निर्माण हुँदै गरेको नाला महानगरपालिकाले भत्काइदिएको छ।

साथै काममा लापरवाही गर्नेलाई कडा कारवाही गर्न प्रमुख पराजुलीले प्रशासन कार्यालयलाई पत्र लेखेका छन्। उक्त कामका प्रमुख ठेकेदार भने कृष्ण बोहोरा हुन्। महानगरले टुन्डिरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवी पन्त, सुपरभाइजरद्वय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारवाहीको सिफारिस गरेको छ। पत्रको बोधार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाईसमेत पठाइएको छ सम्बन्धित व्यक्तिहरू पक्राउ गरिएपछि सो क्षेत्रको निर्माण कार्य रोकिएको छ।