असार १६
पर्वत । श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होईन तर, पर्वतमा भने पत्नी पीडित भएको भन्दै दुई ओटा उजुरी परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा २ जना पुरुषले श्रीमतीबाट पिडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन्। न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका २ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका १ पाङका अर्का पुरुष छन्। उनिहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालन पोषणमा ध्यान नदिएको र घर भन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन्।

उजुरी उपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पिडित पुरुषका श्रीमान् श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पिडित व्यक्तिको मुद्धा अझै कानुनी प्रक्रियामा छ। यस्तै सेवा केन्द्रमा आर्थिक बर्ष २०७४(७५ मा जेठ महिना सम्म ५९ वटा घरेलुहिंसा सम्बद्ध उजुरी दर्ता भएका छन्।

उक्त उजुरी मध्ये प्रहरी आफैले ४१ वटा उजुरी मिलापत्र गराएको छ भने ७ वटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ।

त्यस्तै ८ वटा उजुरी कानुनी प्रक्रियामा छन् भने ३ वटा उजुरी दिएका व्यक्तिहरु सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज थापाले बताईन। – थाहा खवरवाट