७ असार
हेटौडा । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टी सभापतिको अदूरदर्शी रणनीतिका कारण चितवनमा ठूलो क्षति ब्यहोर्नु परेका बताएका छन् । मकवानपुरको हेटौडामा जारी कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको बन्दशत्रमा बोल्दै सभापति श्रेष्ठले केन्द्रीय रणनीति कमजोर भएकै कारण चितवनमा कांग्रेसले क्षति ब्यहोर्नु परेको बताएका हुन ।
स्थानीय तह निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले बिना शर्त सघाए पनि तत्कालिन माओवादीले कांग्रेसलाई कतै पनि नसघाएको भन्दै उनले आपत्ती जनाए । “रेणुलाइ बिना शर्त सहयोग गरियो तर त्यही माओवादीले हाम्रा बिरुद्ध अन्य जिल्लामा एमालेसंग तालमेल गर्यो । यो नेतृत्वले बुझ्न सकेन ।” श्रेष्ठले भने, “सभापतिज्यू चितवन छोडेर के पायो नेपाली कांग्रेसले ?”
स्थानीय तहको निर्वाचनमा माओवादीलाई सघाउंदा चितवनमा कांग्रेसले ६ वटा तह गुमाउनु परेको सभापति श्रेष्ठको भनाइ थियो । चुनावमा कांग्रेस नराम्रोसंग पराजित भए पनि नेताहरुले हारेको अनुभूतिसम्म नगर्नु बिडम्बना भएको उनले बताए । “पार्टी प्रजातान्त्रिक, नेताको चरित्र सामन्ती छ,” उनले आक्रोसित हुँदै भने ।
चितवन सभापति श्रेष्ठले नेतृत्वलाई पार्टी कार्यालयमा बसेर पार्टी सञ्चालन गर्न सुझावसमेत दिए । “पार्टीलाई घरबाट सञ्चालन गरिन्छ, सभापतिज्यू, महामन्त्रीज्यू पार्टी कार्यालयमा बसेर पार्टी चलाउनुस ।” उनले आक्रोश पोखे । बुधवार खाना समय भन्दा अघि बोलेका १२ जिल्लाका सभापति मध्य दुई जना बाहेक सबैले नेतृत्वको आलोचना गरेका छन । बाजुराका सभापति कवीराज पण्डित र दोलखाका सभापति रुद्र खड्काले भने सभापति देउवाको बचाउ गरे। बुधवार साँझसम्म ३५ जनाले बोलेका छन ।









