३ असार
काठमाडौं । नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुने खुलासा गरेका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा प्रोटोकलमा हस्ताक्षर हुनेगरि अहिले गृहकार्य भैरहेको पनि जनाएका हुन् । उनले भने,‘प्रोटोकलमा हस्ताक्षर गर्नेगरि अहिले दुई देशबीच कागजपत्रहरु आदान–प्रदान भैरहेका छन्।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भ्रमणको क्रममा सडक, रेललगायतका पूर्वाधार क्षेत्रहरु, विद्युत, पर्यटन र सिँचाईको विकासको लागि सघन रुपमा कुराकानीहरु भैरहेको पनि बताए ।
उनले भने,‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले २ वर्षअघि चीनसँग १० बुँदे ऐतिहाँसिक सम्झौता गर्नुभएको थियो, अब ती सबै सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्छ, पारवाहन तथा यातायात सम्झौता त नेपालको लागि ऐतिहाँसिक तथा महत्वपूर्ण नै हो।’
त्यस्तै उनले नेपालमा अब राजनीतिक संक्रमण सकिएकोले आर्थिक विकास र समृद्धिको लागि आफ्ना प्राथमिकताहरु निर्धारण गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘दक्षिणतर्फ हामीले जसरी कनेक्टिभिटी बढाएका छौं, अब त्यसैगरि उत्तरतर्फपनि बढाउनुपर्छ, हुन पनि अब चीनसँग जोडिनेगरि दुईवटा मितेरी पुल बनाउने भनिएको छ।’ भट्टराईले विद्युतमा भारतसँग गरिएकोजस्तो पिटीए उत्तरसँगपनि गर्नुपर्ने बताए ।
नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनीयाँ पर्यटकहरु नेपाल भित्र्याउनुपर्नेमा अब ध्यान दिनुपर्नेमा समेत उनको जोड थियो । त्यस्तै कृषि क्षेत्रको पनि विकासमा अब नेपालले विशेष ध्यान दिनुपर्ने बताउँदै नेपालसँग अहिले कमी रहेको ज्ञान, प्रविधि र पुँजी बढाउनेगरि अघि बढ्नुपर्ने उनले बताए ।
त्यस्तै नेपालले उत्पादनमा वृद्धि गर्ने र ती उत्पादित वस्तुहरुलाई चीन निर्यात गर्नेगरि गृहकार्य थाल्नुपर्ने बताउँदै उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण ऐतिहाँसिक महत्व बोकेको छ, मुलुकको समृद्धिको लागि यो भ्रमण कोशेढुंगा सावित हुन्छ, हुन त देश बनाउने भनेको हामी आँफैले हो, अरुको सहयोग त सहायकमात्रै हो।’
प्रधानमन्त्रीको चीन भ्रमण राम्रो अवसर भएकोले यसलाई सही रुपमा सदुपयोग गर्न प्रधानमन्त्रीले सक्नुपर्ने पनि उनको सुझाव छ ।
पूर्व राजदुत एवम् परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रोटोकलमा हस्ताक्षर हुने विश्वास दिलाए ।
चीनसँग १४ राष्ट्रहरुको सिमा जोडिएको बताउँदै उनले भने,‘त्यसमा ८ वटा ल्याण्डलक्ड छन्, यीनीहरुसँगपनि चीनले बिआरआईमार्फत सिल्क रोडमा जोड्न चाहेको छ, रेशम मार्गमा जोडिनेबित्तिकै यी देशहरुको स्वर्ण युगमा प्रवेश हुन्छ।’
नेपालले भारतसँगमात्रै नभएर अब चीनसँगपनि पारवाहनको हक खोज्नुपर्ने श्रेष्ठको भनाई छ । उनले भने,‘ल्याण्डलकलाई अब ल्याण्डलिंक बनाउनुपर्छ।’ चीनको लगानीमा काभ्रेको पाँचखालमा र रसुवामा ईकोनोमिक जोन बन्न लागिरहेको बताउँदै उनले अब नेपालले उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए ।
चीनसँग अम्ब्रेला ईनर्जीमा सम्झौता हुने भएकोले ठूलो अनुदानमा विधुतीय प्राजेक्ट र सफ्ट लोनमा अन्य चार वटा ईनर्जीको क्षेत्रमा काम गर्नुपर्ने पनि उनले बताए । नेपालको श्रम र कच्चा पदार्थ अनि चीनको प्रविधि र लगानीबाट यहाँको विकास गर्न सकिने उनको भनाई छ।
यस पटकको प्रधानमन्त्रीको भ्रमणमा जलस्रोत र उर्जा क्षेत्रमा सम्झौता हुने संभावना रहेको पनि श्रेष्ठले सुनाए । त्यस्तै उनले नेपाल र चीनले उत्तरी क्षेत्रको विकासको लागि एकीकृत पहल थाल्नुपर्ने पनि बताए ।
चीन र भारत दुवैको रेल काठमाडौंमा आउने बताउँदै उनले भने,‘यी दुवै देश नेपालको लागि दायाँ र बायाँ खुट्टाजस्तै हो।’ प्रधानमन्त्रीको चीन भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । मुलुकको समृद्धिको लागि कुटनीति र पार्टनरसिपलाई नेपालले बढावा दिनुपर्ने पनि श्रेष्ठको भनाई छ । नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।
अर्का परराष्ट्रविद एवम् पूर्व राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्रीको भ्रमण सफल हुने विश्वास दिलाए । प्रधानमन्त्रीको चीन भ्रमण सफल हुने प्रशस्तै आधारहरु रहेको उनले विश्वास दिलाए ।
उनले भने,‘यो सरकारसँग म्याण्डेट छ, स्थायी सरकार बनेको छ, राजनीतिक स्थायित्व छ, अहिले धेरै राम्रो वातावरण छ, त्यसैले प्रधानमन्त्रीको चीन भ्रमण सफल हुन्छ।’
उनले नेपालमा चीनको रेल आएपनि हामीले यहाँबाट के पठाउने भन्नेबारे सोच्नुपर्ने पनि बताए । यसअघि चीनसँग भएको पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रधानमन्त्री ओलीको भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन लागेको कुरा सुन्नमा आएकोले यो स्वागतयोग्य रहेको उनको भनाई थियो ।
उनले भने,‘नेपालको विकासको साँचो भनेको नै पर्यटन हो, तर यसको लागि हामीले हाईड्रोको विकास गर्नुपर्छ।’ उनले अहिले नेपालमा स्थायी सरकार भएकोले सरकारले धेरै काम गर्न सक्ने जनतामा विश्वास रहेको पनिसुनाए ।
‘अब संक्रमण सकियो, समृद्धिको युग सुरु भएको छ’ उनले भने,‘तर अहिले फेरि राजनीतिक व्यवस्था कस्तो हुने भन्नेबारे बहस सुरु भएको छ, यसले कतै आशंका पैदा गर्ने हो कि भन्ने डर छ।’
Home Flash News प्रधानमन्त्रीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुन्छ...









