२ असार
काठमाडौं । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।
छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । आचार्यको प्यानललाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अर्जुननरसिंह केसी लगायतको समर्थन थियो भने निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थन थियो ।
कोको विजयी भए ?
यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन् ।
यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सिंगो कार्यसमितिमा देउवा समूहका एक जना मात्र केन्द्रीय सदस्य विजयी भएका छन् ।
कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए ।









