१४ जेठ
काठमाडौं । आर्थिक हिसाबमा पाकिस्तान खस्किँदो अवस्थामा रहेको छ । यस्तो अवस्थामा पाकिस्तानले समस्याबाट पार पाउनका लागि चीनसँग ऋणको प्रस्ताव गरेको छ । पाकिस्तानले आफ्नो सबैभन्दा ठुलो मित्र राष्ट्रको रुपमा रहेको चीनलाई एक देखि दुई अर्ब अमेरिकी डलरबराबरको सहयोगको लागि आग्रह गरेको हो ।

समाचारमा बताइएअनुसार पाकिस्तानलाई चीन र उसका सरकारी बैंकहरुले दिएको ऋण जुन महिनासम्ममा पाँच अर्ब डलर पुग्नसक्ने बताइएको छ। चीनले पनि यति धेरै रकम पाकिस्तानलाई सहयोगको रुपमा दिनुमा अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्नु पनि प्रमुख कारण रहेको बताइएको छ।

पाकिस्तान चीनबाट लिइएको ऋणको सहयोगमा तीव्र गतिमा घटिरहेको विदेशी मुद्रा भण्डार बचाउने योजनामा रहेको छ । गत वर्षको मे महिनामा महिनामा पाकिस्तानसँग १६ अर्ब ४० करोड डलरको भण्डार रहेको थियो जुन अहिले १० अर्ब ३० करोडमा आइपुगेको छ । चीनले गएको अप्रिल महिनामा पनि पाकिस्तान सरकारलाई एक अर्ब डलरको ऋण दिएको थियो ।
आईएमएफमा जाँदैछ पाकिस्तान
विदेशी मुद्रा भण्डारण तथा चालू खातामा देखिएको तीव्र गतिको गिरावटसँगै पाकिस्तानका आर्थिक विज्ञहरुले आगामी जुलाई महिनामा हुने आम निर्वाचनपछि पाकिस्तान सन् २०१३ पछि दोस्रोपटक आर्थिक सुधारको ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ढोका ढक्ढक्याउन जाँदैछ ।

आईएमएफले यसअघि पाकिस्तानलाई छ अर्ब ७० करोड डलरको सहयोग गरेको थियो । पाकिस्तान सरकारका वरिष्ठ अधिकारले यो एक महिनामा पाकिस्तानलाई एक देखि दुई अर्बको सहायता मिल्नसक्ने बताए । यो कोष चीनले चलाइरहेको संस्थानहरुबाट पाकिस्तानलाई प्राप्त हुनेछ । यद्यपि यस विषयमा पाकिस्तानको आधिकारिक मन्त्रालयले भने कुनै किसिमको जानकारी दिएको छैन ।