जेठ १४
चितवन,भरतपुर विमानस्थलबाट काठमाडौंका लागि यात्रुु लिएर उडेको जहाजमा भगेरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

हिजो अपरान्ह ४ बजेर १० मिनेटमा उडेको यति एयरको जेट स्टिम विमानमा चरा ठोक्किएपछि तत्कालै अवतरण गरिएको हो । यति एयरलाइन्सको र्नान एन एआईएस कल साइनको जहाज २२ जना यात्रु लिएर उडेको थियो ।

भरतपुर विमानस्थल नजिकै रहेको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोकिएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले बताउनुभयो ।

क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा ठोकिएको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ ।

यात्रुलाई तत्कालै अर्को जहाज झिकाएर काठमाडौं पठाइएको सिंहले जानकारी दिनुभयोे ।