१२ जेठ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले नेपाली सेना विदेशी पाहुनालाई सुरक्षा दिन सक्षम छैन भन्ने प्रमाण पनि दिएको बताएका छन् । उनले भने ‘मोदीको भ्रमणबाट त्यो प्रमाणित भयो ।’ नेपाल प्रजातान्त्रीक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रमा पौडेलले कांग्रेस सरकारमा हुँदा सार्क सम्मेलन गर्दा समेत नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सकेको स्मरण गरे ।

उनले वर्तमान सरकारको एक सय दिनको अवधि निराशाजनक रहेको टिप्पणी गरे। इतिहासकै शक्तिशाली भनेर चर्चा गरिएको वर्तमान सरकारले जनताको पक्षमा खासै केही गर्न नसकेको पौडेलले बताए ।

लगातार इन्धनको मूल्यमा वृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । ‘लगातार इन्धनको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा मंहगी बढेको छ, आम जनताको दैनिकी कष्टकर हुँदा समेत सरकार रमिते बनेको छ’ पौडेलले भने । नाकाबन्दीको समयमा राष्ट्रवादको राप ओकलेर आफनो दललाई पछिल्लो चुनाव जिताएका केपी ओलीको असली राष्ट्रवाद मोदी भ्रमणबाट छताछुल्ल भएको पौडेलको आरोप थियो ।