१२ जेठ
उदयपुर : फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिहीबार विहान फोटो पोष्ट गरेका उनलाई प्रहरीको केन्द्रीय साईबर क्राईम युनिटको आदेश अनुसार साँझ नियन्त्रणमा लिएर राति नै काठमाडौं पठाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
निरौला जिल्लाको लिमचुङबुङ गाउँपालिका २ ताम्लिछा स्थायी घर भई हाल त्रियुगा नगरपालिका ११ गाईघाट बसोबास गर्दै आएका छन् । गाईघाटको अमूर्त एफएमबाट पत्रकारिता सुरु गरेका उनी त्यसबाट अलग भई हाल प्रस्तावि उपहार एफएम सञ्चालनको तयारीमा रहेका छन् । स्थानीय उदयपुर आवाज साप्ताहिकका प्रकाशकसमेत रहेका उनको पक्राउपछि यही १५ गतेदेखि सञ्चालनमा आउने गरी एफएमको निर्माणाधिन स्टुडियोको काम अवरुद्ध भएको एफएमका अध्यक्ष विश्वराज तामाङले बताए ।
तामाङका अनुसार निरौलाले भने सो फोटो आफुले पोष्ट गरेको नभई फेक आईडी प्रयोग गरेर अन्य व्यक्तिले पोष्ट गरेको दावी गरेका छन् ।









