११ जेठ
तुलसीपुर, दाङ । दाङको तुलसीपुर बजारमा शुक्रवार बिहान रा १ क ५८३ नं.को ट्रिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त सडकमा ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी गिरीलाई नेपाली सेना १९ नं बाहिनी अड्डा तुलसीपुरको समन्वयमा राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
गिरीको पेट र खुट्टामा गहिरो चोट लागेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । प्रत्यक्षदर्शीले ट्रिपर चालकले स्कुटीमा ठक्कर दिएपछि पुन व्याक गरेर ठक्कर दिएको बताएका छन् । सो घटनापछि दोषीलाई कारबाही र घाइतेलाई निःशुल्क उपचारको व्यवस्थाको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्नुका साथै राप्ती अञ्चल अस्पतालमा नारावाजी गरेका थिए ।









