१० जेठ
पर्वत,आफु निर्वाचित भएपछि निरन्तर मरेका मान्छेको नाममा सामाजिक भत्ता निकासा गर्दै आएका कुश्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिमबहादुर गुरुङले पत्रकारबिरुद्ध धम्कीपूर्ण विज्ञप्ती प्रकाशन गरेका छन् ।
आफु निर्वाचित भएपछि आफै घरघरमा नगद बितरण गर्ने नाममा नगरपालिकामा पैसा नआउदै एक सहकारी संस्थाबाट समेत सापटी लिएर भत्ता बितरण गर्ने नाटक रचेका गुरुङसहितका पदाधिकारीले सामाजिक सुरक्षा भत्ता बितरणमा भएको घोटाला सार्वजनिक गरेको आक्रोशमा पत्रकारबिरुद्ध धम्कीपूर्ण विज्ञप्ती प्रकाशन गरेका हुन ।
नागरिक दैनिक, कान्तिपुर दैनिकसहित विभिन्न पत्रपत्रिका र अनलाइनले मरेका मान्छेको नाममा निरन्तर लाखौ रुपैया घोटाला भएको प्रमाणसहित समाचार प्रकाशन गरेपछि अध्यक्ष भीमबहादुर गुरुङसहितका पदाधिकारीले आत्तिएर पत्रकारलाई समाचार लेखेको बिषयमा चेतावनी दिएका छन् । मरेका मान्छेको नाम र निकासा भएको मितिसम्म प्रष्ट रुपमा उल्लेख गरेर लेखिएको समाचारबिरुद्धमा वडाअध्यक्ष गुरुङले समाचार सच्याउन र माफी माग्न चेतावनी दिएका छन् ।
सामाजिक सुरक्षा भत्ता बितरणमा मरेका मान्छेको नाममा भत्ता निकासा भएको पुष्टि भएपछि समाचार लेखिएको भएपनि दुरुपयोग र घोटाला भएको रकम राज्यको खातामा फर्काउने पहल गर्नुको सट्टा वडाअध्यक्ष गुरुङले धम्क्याएरै आफ्नो गल्ती ढाकछोप गर्ने प्रपञ्च गरेका हुन ।









