३ जेठ
काठमाडौं : एमाले–माओवादीले दुवै पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भएका छन्। दुवै पार्टीका केन्द्रीय समिति बैठकले पार्टी एकता अनुमोदन गरेपछि बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी भएको हो। राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलले एकताका लागि सहमति जुटाएपछि बिहीबार नै एकताको औपचारिक घोषणा गर्न दुवै दल तयार भएका हुन्।

बुधबार एमाले स्थायी समिति र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकता गर्ने दुई अध्यक्षबीच भएको समझदारीलाई अनुमोदन गरेको छ।

‘जनमत र देशको आवश्यकताका आधारमा एमालेसँग पार्टी एकता गर्ने र दुवै पार्टीका अध्यक्षबीच भएका समझदारीलाई हाम्रो केन्द्रीय कार्यालयको विस्तारित बैठकले अनुमोदन गरेको छ,’ माओवादी केन्द्रको बैठकपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने।

दुई अध्यक्ष (ओली र दाहाल)बीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले सम्मानजनक एकता न्यायोचित र समानताको सिद्धान्तका आधारमा गर्ने समझदारी बनेको थियो। सो सहमतिअनुसार दुवै पार्टी विघटनपछि बन्ने एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बन्नेछ।

अन्तरिम विधान बनाउन गठित कार्यदलले दिएको प्रतिवेदनको संख्यामा १ सय ४२ संख्या थप गरेर दुई अध्यक्षले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बनाउने समझदारी गरेका थिए।

एकीकृत पार्टीको केन्द्रीय समितिमा एमालेका तर्फबाट २ सय ४१ र माओवादीका तर्फबाट २ सयको संख्यामा नेताहरू पर्नेछन्। माओवादीले केन्द्रीय समितिमा समानताका आधारमा एकता हुनुपर्ने भन्दै बराबरीको अडान लिएपछि संख्या बढाउन एमाले तयार भएको हो।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव एकता संयोजन समिति बैठकमा पेश गरेको थियो।

पार्टी नाम : नेपाल कम्युनिस्ट पार्टी

मार्गनिर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद

कार्यदिशा : समाजवादउन्मुख जनताको जनवाद (महाधिवशेनमा छलफलका लागि )

एकीकृत पार्टी केन्द्रीय समिति : ४४१ (एमाले २४१, माओवादी २००)

स्थायी समिति : ४३ (एमाले २५, माओवादी १८)

पोलिटब्यूरो समितिः नरहने

आजै निर्वाचन आयोगमा दर्ता : दुवै पार्टी विघटनको घोषणा गर्दै आयोगमा दर्ता बिहीबार नै हुने

पत्रकार सम्मेलन : राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको औपचारिक घोषणा गर्ने

एकीकृत पार्टीको नाम नेकपा, मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै राख्ने सहमति ७ फागुनमै दुई पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले गरिसकेको थियो।

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह एमालेले प्रयोग गदै आएको सूर्य चिन्ह नै हुनेछ। चुनाव चिन्हका विषयमा पहिले माओवादीले सहमति जनाएको थिएन। माओवादीद्वारा सञ्चालित १० वर्षे ‘जनयुद्ध’लाई परिवर्तनकारी आन्दोलन निर्माणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको रूपमा दस्तावेजमा स्वीकार गर्ने समझदारी भएको छ।