१८ वैशाख
काठमाडौँ : साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ ।
सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार छन् ।
उनीविरुद्ध प्रहरीले सतहत्तरै जिल्लामा सर्कुलर जारी गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्करीको सम्बन्धमा सोधपुछका लागि एसएसपी खत्रीलाई नियन्त्रणमा लिई बयानका लागि मातहतका निकायलाई निर्देशन दिएपछि उनीविरुद्ध सर्कुलर जारी गरेको हो । खत्री २०७३ साल पुस २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका थिए ।
सोही बर्षको चैत्र ४ गते काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।
उनीहरुले साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेतीलाई खोज्दै धरान र बिराटनगरसम्म पुगेको बताउँदै आएका छन् ।
टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । उनीहरुलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
गत मंगलबार ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरी नियन्त्रणमा लिएको थियो ।
समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउतको बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।









